News Article (Interview with Mr.Kamal Jain)
शिवमूर्ति प्रवद्र्धन गरेर भारतीय पर्यटक तान्न सकिन्छ
मिति: 2012-02-19 सम्बन्ध: अन्तरवार्ता
कमल जैन
अध्यक्ष, हिलटेक
अध्यक्ष, हिलटेक
विश्वकै अग्लो (१४३ फिट) शिवको मूर्ति निर्माण गरेर विश्वभरिका हिन्दू धर्मावलम्बीहरूमाझ चर्चा कमाएका कमल जैन हिलटेक समूहका अध्यक्ष हुन् । प्लास्टिकको पानी ट्यांकी निर्माणमा अग्रणी हिलटेकले नेपाली बजारमा ग्यास गिजर र एयर कन्डिसनर बिक्री गर्छ भने सीपीभीसी र पीपीआर पाइपहरू पनि उत्पादन गर्छ । जैनले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचारका लागि साँगास्थित कैलाशनाथ शिवमूर्तिसँगै हिलटेक हेल्थ एन्ड होम स्थापना गरेका छन् । आफ्नो धार्मिक आस्थाकै कारण शिवमूर्ति स्थापना गरेको बताउने जैन सरकारले आफ्नो योगदानलाई उपेक्षा गरेको भन्दै रुष्ट छन् । नेपालमा भारतीय पर्यटक आगमनको ठूलो सम्भावनालाई शिवमूर्तिमार्फत आकर्षित गर्न सकिने भए पनि सरकारले यसतर्फ चासो नै नदेखाएको उनी बताउँछन् । महाशिवरात्रिका बेला कैलाशनाथ महादेव मन्दिर क्षेत्रमा हुने श्रद्धालु भक्तजनको भीड र त्यसको व्यवस्थापन तथा मन्दिरसँग जोडिएका विविध पक्षबारे जैनसँग कर्पोरेट ब्युरो प्रमुख विपेन्द्र कार्कीले गरेको कुराकानी ः
विश्वकै अग्लो शिवमूर्ति रहेको साँगा क्षेत्रमा यस वर्षको शिवरात्रि पर्वको तयारी कसरी भइरहेको छ ?
यस वर्षको शिवरात्रिमा हामीले गत वर्षको तुलनामा भक्तजनहरू बढ्ने अपेक्षा गरेका छौं । गत वर्ष नै महाशिवरात्रिको दिन १ लाखभन्दा बढी भक्तजनले साँगामा पुगेर शिवको दर्शन गर्नुभएको हामीसँग तथ्यांक छ । यो वर्ष झन्डै साढे १ लाख भक्तजनले विश्वकै अग्लो शिवमूर्तिको दर्शन गर्नुहुने आँकलनका आधारमा हामीले आन्तरिक तयारी गरिरहेका छौं । देश–विदेशमा यसको व्यापक प्रचार–प्रसार भइरहेकाले स्वदेशीसँगै विदेशी भक्तजनहरूको पनि उल्लेख्य सहभागिता रहने हाम्रो अपेक्षा छ । छिमेकी राष्ट्र भारतमा हालै स्टार न्युजसहित अन्य सञ्चारमाध्यमले पनि यसको प्रचार–प्रसार गरेकाले यो वर्ष हामी निकै आशावादी छौं । शिवरात्रिका बेला पशुपति क्षेत्रमा जसरी भीड लाग्ने गरेको छ, साँगास्थित विश्वकै अग्लो शिवमूर्ति दर्शनका लागि पनि त्यस्तै भीड देखिने अपेक्षा गरेका छौं ।
श्रद्धालु भक्तजनको यति ठूलो संख्यालाई व्यवस्थापन गर्नु कत्तिको चुनौतीपूर्ण छ ? अहिलेको पूर्वाधारले भक्तजनको चाप धान्न सक्छ ?
हामीले स्थानीय जनताको साथ सहयोग पाइरहेकोले व्यवस्थापनमा धेरै सजिलो भइरहेको छ । साँगा, चितापोल गाविस, ट्राफिक र स्थानीय प्रहरी प्रशासनको सहायताले भक्तजनको भीड व्यवस्थापनमा काम गरिरहेका छौं । उहाँहरूबाट अहिलेसम्म अत्यन्तै सहयोग पाइरहेकाले पनि शिवरात्रि व्यवस्थित हुने अपेक्षा गरेका हौं । अर्कोतर्फ हामीसँग भीड व्यवस्थापनको अनुभव पनि छ । नयाँ वर्षको दिनमा डेढ लाख सर्वसाधारण साँगा पुग्नुभएको थियो । उहाँहरूबाट हामीले त्यो बेला पनि कुनै गुनासो सुन्नु नपरेकाले यस वर्षको शिवरात्रिका बेला पनि हामीले यसलाई व्यवस्थित गर्न सक्छौं भन्ने अपेक्षा छ । सरसफाइ, पानी र बिजुलीका लागि हामीले समितिहरू बनाएर काम थालिसकेका छौं ।
सरकार र स्थानीय समुदायले सञ्चालन गरेका मठमन्दिरको व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । व्यक्तिगत रूपमा निर्मित र सञ्चालनमा आएको मन्दिरको व्यवस्थापन कत्तिको चुनौतीपूर्ण हुँदो रहेछ ?
व्यक्तिगत भए व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । एकै व्यक्तिले संस्थाको अधिकतम हित हेरेर, सबैको कुरा सुनेर भए पनि आफैं निर्णय गर्न सक्छ । ट्रस्टबाट सञ्चालन हुने मन्दिरमा सबैको रुचि र दृष्टिकोण मिलाउन समय लाग्छ । आफ्नो लगानी नभएकाले गर्ने निर्णय संस्थाको हितमा नहुन पनि सक्छ । यसर्थमा व्यक्तिगत रूपमा सञ्चालन हुँदा बेफाइदाभन्दा फाइदा नै बढी छ । यसको परिणाम शिवमूर्तिस्थलसम्म पुग्ने जो कोहीले पनि गर्न सक्नुहुन्छ । मन्दिर प्रवेशमा एक रुपैयाँ पनि शुल्क लिइएको छैन तर सरसफाइका दृष्टिले हेर्ने हो भने नेपालका कुनै पनि मन्दिरभन्दा कम छैन । शिवमूर्ति परिसरभित्र हामीले भक्तजनको सुविधाका लागि कुनै कसर बाँकी राखेका छैनौं । गत वर्षको शिवरात्रि, नयाँ वर्ष र साउन महिनाभरि नै भक्तजनको घुइँचो लागेको थियो । अहिलेसम्म हामीले अप्रिय स्थितिको सामना गर्नुपरेको छैन ।
विश्वकै सबैभन्दा अग्लो शिवको मूर्ति साँगामा निर्माण गर्नुभएको झन्डै २ वर्ष भएको छ । अहिलेसम्म स्वदेश र विदेशबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ ?
यतिधेरै ‘रेस्पोन्स’ पाउँछु भनेर मैले सोचेकै थिइनँ । मूर्ति निर्माण गर्दासमेत मलाई डर थियो कि भोलि कोही आइदिएनन् भने के गर्ने ? मूर्ति निर्माण सुरु गर्दा साँगाको बाटो भएर त्यति गाडी पनि चल्दैनथे । तर, अहिले प्रत्येक शनिबार १० हजार जनाको हाराहारीमा मानिसहरू पुग्छन्, अरु दिन पनि २ हजारजति त पुगेकै हुन्छन् । धार्मिक र पर्यटकीय दुवैखालेले साँगालाई गन्तव्य बनाएको देख्दा मैले आफूले सोचेभन्दा धेरै सफलता पाएजस्तो लाग्छ । विशुद्ध धार्मिक भावनाले स्थापना गरिएको शिवमूर्तिको विरोध आजसम्म कसैले गरेको पनि छैन । हुन त एउटै हातका पनि पाँच औंला बराबर हुँदैनन् । त्यसैले कसैले केही भने पनि म विचलित हुन्न किनकि भगवान त भगवान नै हुनुहुन्छ । मैले भगवानको पूजामात्र गरेको हो ।
मूर्ति निर्माणको दुई वर्षपछि फर्केर हेर्दा स्थापनाको उद्देश्य कत्तिको पूरा भएको जस्तो लाग्छ ?
उद्देश्य पूरा भएको छ । पहिले ममाथि धेरैले शंका गर्थे कि व्यापारी भएर मूर्ति बनायो, कतै व्यापार त गर्ने होइन भन्ने आशंका थियो । अहिले त्यो भ्रम मेटिइसकेको छ । मन्दिर बनाएर मैले पैसा कमाउन चाहेको रहेछु कि अरु नै भन्ने मान्छेहरूले अब बुझिसकेका छन् । हिन्दू धर्मावलम्बीहरू अत्यधिक संख्यामा रहेको मुलुकमा शिवको अग्लो मूर्ति स्थापना गर्नु आवश्यक थियो । त्यो अरु कसैले गरेनन्, मैले गरें । शिवभक्त हुनुको नाताले मैले यसलाई जीवनको अनिवार्य कर्म ठानेको छु र आज पूरा हुँदा मनमा परम सन्तोष पनि मिलिरहेको छ ।
मन्दिर प्रवेशमा शुल्क लिइएको आरोप यहाँमाथि बेलाबखत लाग्दै आएको छ । मन्दिरसँगै हिलटेक हेल्थ होम राखेर पनि व्यापार गरिरहेको भनिन्छ नि !
व्यापार गर्नु आफैंमा अपराध होइन । व्यापार गर्ने मेरो अधिकार हो र मैले अहिलेमात्रै व्यापार गरेको पनि होइन । मन्दिर र हिलटेक हेल्थ होम सँगै हुनु संयोगमात्रै हो, मन्दिरसँग जोडेर मैले व्यापार गरेको छैन र गर्न पनि चाहन्नँ । व्यापार गर्न मन्दिर नै बनाउनु पर्दैन र अहिलेसम्म मैले व्यापारमा प्राप्त गरेको सफलता यो मूर्ति बनाउनुभन्दा अघिकै हो ।
मन्दिरमा प्रवेश शुल्क लिइएको छैन । लिइएको भए बरु व्यवस्थापनका लागि सजिलो हुन्थ्यो । शिवरात्रि पर्वमा मात्रै लाखौं रकम खर्च हुन्छ तर हामीसँग नियमित आम्दानीको स्रोत छैन । पशुपतिमा जस्तो सरकार, दाता तथा भक्तजनबाट प्राप्त हुने कोष शिवमूर्तिमा नहुँदा व्यवस्थापन खर्च जुटाउने पिरलो हामीलाई सधैं भइरहेको हुन्छ । यद्यपि, हामीले भक्तजनसँग प्रवेश शुल्क लिएकै छैनौं । पानी, जुत्ताचप्पल, शौचालय आदि सबैको निःशुल्क व्यवस्थाका लागि हामीलाई पनि स्रोत चाहिन्छ तर आजसम्म कहीँबाट लिएका छैनौं । अहिलेको व्यवस्थापन हेर्ने हो भने त्यहाँ पुग्ने जोकोहीले २० रुपैयाँसम्म प्रवेश शुल्क तिर्नुपरे पनि आफ्नो पैसा खेर गएको महसुस गर्नुपर्ने अवस्था छैन तर म त्यो पक्षमा छैन । मेरो आफ्नै व्यवसाय राम्रै चलिरहेकाले व्यवसायबाट प्राप्त आम्दानीको निश्चित प्रतिशत म अझै पनि यसमा लगाउन सक्ने अवस्थामा छु ।
शिवमूर्ति स्थापना गर्ने सोचाइ तपाईंको मनमा आउँदा धार्मिक भावना प्रवल थियो कि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने चाहना ?
मेरो मुख्य उद्देश्य धार्मिक नै थियो । म चाहन्थें कि मैले धार्मिक भावनाले स्थापना गरेको शिवमूर्तिले पर्यटन, व्यापारलगायतका क्षेत्रको पनि विस्तार होस् । पर्यटकीय भावना हुँदो हो त म सुन्दर पार्क बनाउँथें होला । धार्मिक भावनासँग पर्यटन जोडियो, यो अत्यन्तै सकारात्मक हो । पर्यटन प्रवद्र्धन त सरकारको दायित्व हो । म त यस्तो ठाउँमा मन्दिर स्थापना गर्न चाहन्थें कि सबैभन्दा अग्लो शिवमूर्ति बनाउन सकौं र त्यहाँ सबैले दर्शन गर्न सक्ने अवस्था पनि रहोस् । मैले बनाएको मन्दिरमा कोही दर्शन गर्नै आइदिएनन् भने मन्दिर बनाउनुको लक्ष्य पूरा हुन सक्दैनथ्यो ।
तपाईंले साँगा क्षेत्रमा अग्लो शिवमूर्ति स्थापना गरेपछि कस्तो परिवर्तन महसुस गर्नुभएको छ ?
मान्छेहरूको सोचाइ एकदमै परिवर्तन भइसक्यो । मैले त्यहाँ मूर्ति बनाउन सुरु गर्दा ‘एउटा इन्डियनले मूर्ति बनाएर व्यापार गर्दैछ रे’ भन्नेखालका हल्ला सुनिन्थे । अब उनीहरूमा पनि त्यो सबै भ्रम हटिसक्यो । म पनि भक्तपुर र काभ्रेको स्थानीयजस्तै भइसकें । मलाई उनीहरूले आफ्नै छिमेकीजस्तै ठान्छन् । मैले शिवमूर्ति निर्माण गर्दा करिब ६ वर्षअघि त्यहाँ चिया खाने पसल पनि थिएन । आज त्यो ठाउँ मुग्लिङजस्तै भइसक्यो । स्थानीयले रोजगारी पाएका छन्, निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, जग्गाको भाउ बढेको छ । सरकारले बाटो, बिजुली र पानीको व्यवस्था गर्ने हो भने त्यहाँ पर्यटकीय गन्तव्य बन्नसक्ने ठूलो सम्भावना छ । मलाई धेरै जनाले आएर यस्ता समस्याहरू सुनाइरहन्छन् । बाटो र बिजुलीको व्यवस्था भए आउने पर्यटकको चाप थेग्न हामीले पनि व्यवस्थापन कसरी गर्ने भनेर सोच्नुपर्छ ।
विश्वकै अग्लो शिवमूर्ति भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै प्रचार भइसक्यो, भारतीय पर्यटकको आगमन दर अहिले कत्तिको बढेको छ ?
स्वस्फूर्त भएको प्रचार–प्रसारकै कारण शिवमूर्ति हेर्न भारतीयहरू पुग्ने गरेका छन् । सरकारका तर्फबाट भने यसका लागि केही पहल भएकै छैन । नेपाली पत्रपत्रिका, टेलिभिजन र भारतीय मिडियासमेतको सहयोगले यसको प्रवद्र्धन भइरहेको छ । शिवमूर्तिलाई प्राइभेट भन्ने लेबल लाग्दा सरकारले सहयोग गरिरहेको छैन । शिवमूर्ति मैले व्यक्तिगत खर्चमा बनाए पनि यो राष्ट्रको सम्पत्ति हो । यसको प्रचार–प्रसार देश विदेशमा हुँदा सरकारलाई नै फाइदा हुन्छ तर सरकारले यो कुरा बुझेन । भगवान कसैको व्यक्तिगत हुँदैन । भगवानलाई पूजा गर्ने सबैको आफ्नै शैली हुन्छ, मैले पनि शिव भगवानको पूजा नै गरेको हो । सरकारले त हामीजस्ता निजी क्षेत्रबाट मन्दिरजस्तो गैरनाफामुखी क्षेत्रमा लगानी गर्नेलाई सम्मान गर्नुपर्ने हो । सरकारले अरु पनि क्षेत्रमा यस्ता काम गर्नेलाई प्रोत्साहन दिनुपर्छ । मैले साँगामा शिवमूर्ति बनाएर राज्यलाई के नोक्सानी पुगेको छ भने हिम्मत गरेर भनिदिनुप¥यो नत्र भने यसरी उपेक्षा गर्नु भएन । अरु देशमा त पर्यटक बढाउने यस्ता गतिविधिलाई प्रोत्साहन गरिन्छ भने राम्रा कुरा ती देशबाट पनि सिक्नुप¥यो ।
आफ्नो जिन्दगीको यति ठूलो कमाइ मूर्ति बनाउने जस्तो क्षेत्रमा लगानी गर्न तपाईंलाई कुन कुराले प्रेरणा दिएको हो ?
मेरो सपना नै थियो कि संसारको सबैभन्दा ठूलो शिवको मूर्ति बनाउने थियो, त्यो पूरा गर्नलाई नै मैले सबैखाले बाधा, अवरोधहरू छिचोलेर मूर्ति स्थापना गरेको हो । मेरो सोचाइ नै व्यापारमा मात्रै सीमित हुने थिएन । कमाउन त मेरो छोराले पनि भोलि कमाउँछ तर मुलुक, समाज र आफैंलाई सन्तुष्ट पार्ने केही काम गर्ने सोचाइले शिवमूर्ति निर्माणमा अग्रसर भएँ । राजनीतिमा लागेको भए प्रधानमन्त्री, राष्ट्रपति भएर राम्रो काम गर्छु भन्न सकिन्थ्यो तर व्यवसायमा लागेपछि आफ्नो जीवनकालमा छाप छोड्न जो कोहीलाई पनि मन लाग्दोरहेछ । व्यापारभन्दा माथि उठेर स्कुल, हस्पिटल खोल्न सकिन्छ तर त्यहाँ पनि सानोतिनो व्यापार त भइहाल्छ । मैले त्योभन्दा पनि माथि उठेर मन्दिर बनाउने निर्णय गरें ।
साँगामै स्थापना गर्नुभएको हिलटेक हेल्थ एन्ड होमको अवस्था अहिले कस्तो छ ?
हिलटेक ब्रान्डमा धेरै खाले व्यवसाय छन् । साँगामै रहेको हिलटेक हेल्थ एन्ड होमको मुख्य उद्देश्य नेचुरोपेथिक ट्रिटमेन्ट नै हो । यो सञ्चालन भएको पनि दुई वर्ष पुगिसक्यो, जसमा नेचरोपेथीका सबैखाले उपचार सेवा छन् । नेपालमा अन्यत्र नभएका र भारतमा पनि केही ठाउँमा मात्र भएका कोलमथेरापीजस्ता सुविधा छन् । तर, हामीले यसको पर्याप्त प्रचार–प्रसार गर्न सकेका छैनौं । अहिलेसम्म हिलटेक हेल्थ एन्ड होमको सञ्चालन खर्च पनि उठेको छैन । अहिलेसम्म हामी पूर्वाधार निर्माण गरिरहेका छौं । तर एक वर्षको अवधिमा धेरै पर्यटक उपचारका लागि त्यहाँ पुग्नुभएको छ । मलाई विश्वास छ कि आउँदा दिनमा यसले हिलटेक समूहलाई थप उचाइमा पु¥याउनेछ ।
हिलटेक ब्रान्डका अन्य उत्पादनको बजार कस्तो छ ?
मलाई चिनाउने उत्पादन हिलटेक पानी ट्यांकी हो । प्लास्टिक ट्यांकीका अतिरिक्त ग्यास गिजर, एयर कन्डिस्नर, वाटर पम्प, पीपीआर र सीपीभीसी पाइप नेपाली बजारमा अत्यन्तै लोकप्रिय छन् । हामी सधैं गुणस्तरमा विश्वास गर्ने र त्यहीअनुसार उत्पादन गर्ने भएकाले हामीलाई बजारको पनि कुनै समस्या छैन । निर्माण कार्य अलि अवरुद्ध भएकाले मागमा केही कमी आए पनि हाम्रो ब्रान्डका कारण खासै समस्या छैन । नयाँ आएका उद्योगलाई भने टिक्न गाह्रो छ ।